Top Post Ad

Katha: Sahamati by Pradip Nepal

 कथाः सहमति

- प्रदीप नेपाल-

pradip+nepal+writer+politician


रात बिस्तारै उकालो लाग्दै थियो। 'इन्डियन क्विजिन कर्नर'मा जमेर बसेका थिए चार जना। नाम जे भए पनि विदेशी रक्सीको रङ पहेंलो हुने भयो। सेकुवा भन्नेबित्तिकै जिब्रोमा पानी आउने नै भयो। एक टुक्रो सेकुवाले दुई पेग तान्न भ्याइरहेका थिए तिनीहरूले ।

'चूक भयो हामीबाट' बाहिरको चिसोलाई पनि चुनौती दिने स्वरमा ओभरकोट लाएको ठूल्टाउकेले भन्यो, “यो आन्दोलन हाम्रो मात्र होइन, सिंगो मधेसका जनताको हो भनेर हामीले कसैलाई विश्वास दिलाउने सकेनौँ।"

सन्नाटा छायो टेबलमा ।

"आन्दोलनमा सघाउन पारिका मान्छे बोलाउने प्रस्ताव कसले गरेको हो?" उसैले सोध्यो।

"अरे भाइ, रोटीबेटीको सम्बन्ध हो, सघाउन त आइहाल्छन् नि !"

"तिम्रो प्रस्ताव हो तेसो भए यो ?"

“मेरो नभए नि म यो प्रस्तावलाई गलत मान्दिनँ। यसलाई अन्तर्राष्ट्रिय सहयोग पनि भन्न सक्छौँ।"

"ना ! यो अन्तर्राष्ट्रिय सहयोग होइन। हाम्रो आन्दोलनलाई बदनाम गराउने औजार बनेको छ यो।"

"कसरी ?"

"मैले पश्चिमी कूटनीतिज्ञसँग, सरकारमाथि दबाब बढाइदिनु पन्यो भनेर अनुरोध गरें। उनीहरूले मलाई सीधे भने, हामी सक्दैनौं । यो आन्दोलन दिल्लीको हो। नाकाबन्दी पनि उतैको हो। दसगजामा प्रदर्शन गर्ने, घाइते पनि भारतीय नै हुने, मारिएका पनि भारतीय नै हुने आन्दोलनलाई हामी कसरी मधेसी जनताको आन्दोलन भनेर मान्न सक्छौँ। तिमीहरूले भारतको संलग्नताका बारेमा प्रस्ट जानकारी नदिएसम्म हामी पक्षधरता जाहेर गर्न सक्दैनौं। अहिलेको स्थितिमा हाम्रो भनाइ प्रस्ट छ, मिलेर अधि बढ़।"

"भारत र भारतीय हाम्रा राजनीतिक साथी मात्र होइन, हाम्रा आफन्त हुन्। मर्दा पर्दा चाहिने परिवार हुन्। सात समुद्रपारिका अचिनारुहरुको लहैलहैमा हामी कसरी भारतलाई, हामीलाई नबोक भन्न सक्छौं ?"

गाँठ सानो, अनुहार सोहोरिएको, घामले डढेर रूपरंग फेरिएको भए पनि मान्छे चर्को थियो त्यो।

"ना, रजिन्दर ना। घाटा भैरहेको छ, भारतले बोकेको भनेर। तिम्रा केटाहरूले नेपाली र चिनियाँ झन्डा पोल्यो। किन ?"

"किनभने, नेपाल अब हाम्रो राष्ट्र रहेन। हाम्रो माग बहुराष्ट्रको हो। नेपालको झन्डाप्रति हाम्रो सम्मान रहिरहनु आवश्यक छैन "

"अनि चीनको ?"

"तिनले हाम्रो आन्दोलनलाई साथ दिएनन्। तिनले मधेस आन्दोलनलाई सम्बोधन गर भनेर नेपाल सरकारमाथि कुनै दबाब दिएनन् ।

र पनि, तिमीले गल्ली गयी। तिम्रो यो कर्मले चीन मात्र होइन, भारतइतर राष्ट्रमा पनि हाम्रो आन्दोलनप्रति शंका जन्माइदिएको छ। हामी साँच्चिकै भारतीय स्वार्थका गोटी मात्र हौं कि भन्ने शंकामा अहिले तिनीहरु रुमल्लिइरहेका छन् ।"

ठूल्टाउके एकछिन रोकियो।


"यसरी भारतको सम्पूर्ण रूपमा भर पर्दा उठ्ने नसक्ने गरी लड्ने सम्भावना पनि छ। दिल्लीले नेपालमा कसैको पनि समूहगत हित चाहँदैन । अझ हामी मधेसी जनताप्रति उसको अविश्वास अरु कसैप्रतिभन्दा बढी छ। हाम्रा कारण बिहारमा स्वतन्त्र मिथिला प्रदेश जन्मिएला भनेर उनीहरू शंका गरिरहन्छन्। उत्तर प्रदेशमा पनि अवध राज्यको परिकल्पना हुन सक्छ भन्ने त्रासमा पनि उनीहरू बसिरहेका छन्। भारतमा राज्य टुक्रिने प्रक्रिया निरन्तर अघि बढिरहेको छ। भारतीय नेपालीहरुको बस्ती, सिक्किम, दार्जीलिङ, उत्तराखण्डजस्ता प्रदेशसँग उनीहरूले सधैं सतर्क हुनुपरेको छ...।"

"तिमीले त हामीलाई कुवाको ब्याड अनि आफूलाई बाराक ओबामा पो ठान्यो," रजिन्दरले बीचैमा कुरो काट्यो।

"मैले कसैलाई कुवाको ब्याड भनेको छैन, ठूल्टाउकेले भन्यो, "तर, तिमीलाई थाहा छ, मैले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा पीएचडी गरेको हुँ। त्यसैले मेरो ज्ञान ठोस छ, तिम्रो तरल छ। दिल्लीका हाकिमले क्या बात् रजिन्दर ! भनेपछि तिमी फुरुंग हुन्छौ। म त्यो ताल ठोकाइ‌मा पनि दिल्लीको अतिरिक्त स्वार्थ देख्छु। मैले त्यसै दिल्लीमा सात वर्ष बिताएको होइन ।"

एउटा बोतल र दुई-दुई प्लेट सेकुवा पनि सकिएको थिएन। तर, दुई जनाको तातो छलफल र दुई जनाको मौनताले कोठाको राप बढाउँदै थियो ।

सानो ज्यानको मान्छे। डा. साहेपले पीएचडीको ध्वाँस दिएपछि अप्ठ्यारोमा पर्यो ।

"अरे हो ठाकुरजी, आप कुछ कहो ना!" सीधे हिन्दीमा

उत्रियो रजिन्दर ।

“म त उतिबेलादेखि बोलिरहेको थिएँ, जतिबेला तिमीहरू जन्मिएकै थिएनौ। यति मात्र होइन, तिमी नेपाली नरहँदा पनि म बोलिरहेको थिएँ। जिन्दगी फटाफट कमाएर रमाउने कथा होइन। तिमीहरूले जिन्दगी देखेकै छैनौ। भोग्ने त कुरै नगर। मैले राजनीतिमा लागेर सिंगो परिवार गुमाएँ। पत्नी गुमाएँ। पढालिखा छोरो गुमाएँ। तिमीले के गुमाएका छौ? फुत्त आयो। नेपाली भयो। गजेन्द्रजीले दुःखले बनाउनुभएको पार्टीको टाउकामा टेक्ने बाटो बनायो र मन्त्रीमाथि मन्त्री हुँदै गयो । कारावासको पीडा ! सके शब्द सुनेका पनि छैनौ होला। हामी त्यो नरक भोगेर आएका मानिस हौं। कुरा तिमीहरू गर। म सुन्छु । ०४६ सालमा मैले दिल्लीलाई गणतन्त्र नेपालको घोषणा गरिदेऊ भनेको थिएँ। तिनले मानेनन्। मलाई विश्वास गरेनन् त्यसैले दिल्लीलाई पनि म आँखा चिम्लेर विश्वास गर्न सक्दिनँ। नेपालको पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह हुन् । दोस्रो म हूँ। त्यसैले अब मलाई धेरै नबोलाऊ। तिमीहरूले टाउकामा राखुन्जेल म पनि आन्दोलनकारी हूँ। राख्दैनौ भने केही छैन। म स्वतन्त्र हुन तयार छु। किनभने, मैले मागेको गणतन्त्र आइहाल्यो।" ।

"बुढउ सठिया गए," रजिन्दरले वाक्क गयी।

"हेर भाइ रजिन्दर, तँ धेरै फट्‌फट् नगर। तें उसै पनि सबैभन्दा पछि नेपाल आएको मान्छे। हामी पाँच पुस्ताअगाडि आएको बूढाको सन्तान हौं। तैभन्दा रामरी म मधेसलाई चिन्छु। दिल्ली नेपालका पहाडी, मधेसी कसैको पनि हित चाहँदैन । रोटीबेटीका सम्बन्ध । यो हामीलाई ढाँट्ने मेलो हो। पञ्चायतकालमा हाम्रा मधेसी भाइहरु मारिए। कतिलाई बेपत्ता पारियो । कतिलाई सीधे गोली ठोकेर मारियो । अहँ भारतले राजासँग एक शब्द बात गरेन। भैंसी मारिएजसरी हाम्रा मधेसी बन्धुहरू मारिए। दिल्ली र काठमाडौँको घाँटी जोडिइरह्यो। अहिले हामी किन दिल्लीका लागि अनिवार्य आवश्यकता भयौँ ? सोच ।"

लम्बु यादवले लामो प्रवचन दियो ।

"तो हम क्या करें ? हाथ-पैर बाँध के सो जाएँ ?"

"देख रजिन्दर तिमी केही नगर। तिमी केटाकेटी नै छौ राजनीतिमा। तिम्रा लागि राजनीति व्यापार होला। हाम्रा लागि यो निष्ठा हो। उताबाट अस्ति आएका तिमीलाई उताकाले सहजै स्वीकार्लान् र तिमीलाई कुनै प्रदेशको राजनीतिमा सहभागी हुने बाटो पनि बनाइ देलान् । हाम्रा लागि त उता केही छैन। मेरा चार पुस्ताले नेपालको माटोमा ज्यान बिसराएका छन् । त्यसै तिमी चूप लागेर बस र हामीलाई सोचेर काम गर्न देऊ। लूप लाइनमा दौडिएर आज वीरगन्ज, भोलि सुनवल, पर्सि नेपालगन्ज रोड गरेर तिमी आफूलाई म एक जना मात्र खाँट्टी आन्दोलनकारी हुँ भन्ने दम्भ प्रदर्शन नगर। सक्छौ भने दिल्लीमा गएर, दिल्लीको वास्तविक सोच के हो पत्ता लगाएर आऊ। हाम्रो काँधमा राखेर बन्दुक पड्‌काउन सुहाउँदैन तपाईंहरूलाई भन । हामीले तपाईंहरूमाथि भरोसा गरेका छौं, तपाईंहरू हामीमाथि विश्वास गर्नूस् भन।"

"त्यो त उनीहरूले भनिरहेकै छन्। किन ख्यारख्यार गर्न जानुपप्यो ?"

"भन्नु एउटा कुरा हो। मन अर्कै कुरा हो। राजनीतिमा कोही पनि सजिलै मनको कुरा खोल्दैन ।"

“ठूल्दाइ, तिमीसँग कुनै क्लु छ?" लम्बु यादवले सोध्यो ।

"क्लु छैन, शंका छ। दिल्ली सबैतिरको घेराबन्दीमा छ। स्वयं भारतभित्रैबाट भारत-नेपाल सम्बन्ध बिगारेको आरोप दिल्लीमाथि लागेको छ । संयुक्त राष्ट्रसंघले पनि दिल्लीलाई पटकपटक सचेत गराएको छ। संविधानको भ्रमबाट बाहिरिएपछि भारत, युरोप र अमेरिकाबाट पनि एक्लिएको छ। यति धेरै हुँदा पनि दिल्ली टसमस गरेको छैन ? किन ? खालि हामी मधेसीको हितका लागि ? होइन। यो हुनै सक्दैन। बिहार र उत्तर प्रदेशका मञ्यहरूमा उभिएर हाम्रा रोटीबेटीको सम्बन्ध भएका बिहारी र अवधीहरुलाई गाली गर्ने दिल्ली हाम्रो स्वार्थ रक्षाका लागि सबथोक सहेर बसेको छ भनेर कसरी भन्न सकिन्छ ?"

"यो तालले तिमीहरू आन्दोलन चलाउन सक्दैनौ, वृद्ध ठाकुरले आशीर्वादको भाकामा भन्यो, "आन्दोलनको नेतृत्व गर्न पहिलो त आफू र आफ्ना सहकर्मीप्रति विश्वासको वातावरण चाहिन्छ। यदि यो मधेसको आन्दोलन हो भने सबै मधेसीलाई गोलबन्द गर्नुपर्छ। तर, यहाँ त त्यस्तो केही छैन।

तिमीहरू तीन जनाकै बीचमा आपसी विश्वास टुटेको छ। मातृकाजी यो आन्दोलनको विरोध गरिरहेका छन्। स्वयं राष्ट्रपतिजी, मधेसी भैकन पनि सरकारले मधेसको मागलाई सम्बोधन गर्नुपर्छ भन्न सकिरहेका छैनन् । विरोधी त विरोधी ने भैहाले । आन्दोलनलाई ओझेलमा पार्न मधेसी दलितको, बोक्सीप्रथाको, इनार र ट्युबवेलको कथा कधिरहेका छन्। यो सब विरोधीको प्रोपोगन्डा हो भनेर आन्दोलनलाई जबरजस्ती अघि बढाउन सकिँदैन ।"

"बुढउ, सठिया गए," रजिन्दरले फेरि भन्यो, "वो मातृका, वो तो पागल है। अउर रहे राष्ट्रपति। वो कब हमारे साथ थे ? अब उनकी बेटी भी भजन गाने लगी सबको मिलकर रहना होगा। धत्।"

वृद्ध ठाकुर हाँसिरह्यो ।

"देख, रजिन्दर तँ राजनीति भनेको फिट्टै जान्दो रहेनछस्। कुरो सुन्नु बूढाको, आगो ताप्नु मूढाको आहान त्यसै चलेको होइन । ठाकुर बा, जे भन्दैछन् ठीक भन्दैछन्। दुई जना पत्रकारले लेख्दैमा, दिल्लीले 'अच्छा क्याबात्' भन्दैमा अनन्तकालसम्म हाम्रो आन्दोलन चल्दैन । ठूल्दाइले ठीकै भने। पारिबाट मान्छे ल्याउनु गल्ती थियो। दिल्ली हुँदैछ मातृका र राष्ट्रपति किन चाहियो भनेर ततर्किनु पनि ठीक होइन। सम्झी रजिन्दर, हामी हारेका मानिसले हकिको आन्दोलन हो यो। त्यसैले तेरो उफ्रिपाफ्रीले आन्दोलन माथि उठ्दैन। एक्लो हिरो हुने कुरो नसोच।

रजिन्दर अँध्यारो भयो। रात पनि गाढा अँध्यारोतिर गइरहेको थियो।

(प्रदीप नेपालको जन्म २०१० साल पौष २८ गते भएको हो। उहाँका पार्टीकी आमा, पूर्वतिर, मुक्ति, स्वप्निल शहर एक हजार वर्ष लगायत १६ वटा उपन्यास, धरहराको शहर, बेचिएका चेलीहरु, बाधमारेको लालसलाम लगायत १० वटा कथासङ्ग्रह, पाइला छोडेर अस्ताए‌को धाम, इलामको तारा, बन्दीगृहको सिर्जना लगायत १३ वटा नियात्रा संस्मरण तथा विविध विषयसँग सम्बन्धित थुप्रै पुस्तकहरु प्रकाशित भइसकेका छन् । उहाँले प्रजातन्त्र स्थापनाको क्रममा जेलनेल भोग्नुको साथै २०५१ सालमा संचार र जलस्रोत मन्त्री, २०५५ सालमा स्वास्थ र जलश्रोत मन्त्री, २०६३ सालमा शिक्षा मन्त्री भइसक्नुभएको छ । उहाँले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनिय काम गरेकाले उत्तमशान्ति पुरस्कार, नइ ईश्वर वल्लम पुरस्कार तथा साहित्य सन्ध्या, दोभान साहित्य, प्रलेस, गोपालप्रसाद रिमाल सम्मान जस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसक्नुभएको छ । हाल उहाँ साहित्य र राजनीतिमा उत्तिकै क्रियाशील हुनुहुन्छ ।)


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.